गजल

गजल (सवाल)

बगैचामा फूलिहिँड्ने फूल सोच्यौ मलाई

चौबाटोमा टाँगीएको तुल सोच्यौ मलाई

सृष्टिले जन्माएकी सिर्जना हुँ म त

अभागीको बेहोसीको भूल सोच्यौ मलाई

कोखबाट अमृतसरी धारा बगाई दिएँ

जवानीको छाती पोल्ने शुल सोच्यौ मलाई

सिर्जनाको मुहान भएपनि जानी राख

बर्षैपिच्छे फुटि राख्ने मूल सोच्यौ मलाई

हामी पनि डुल्छौ एकदिन चन्द्र अनि मंगल

बाढीसँगै बगी जाने पूल सोच्यौ मलाई

मीना थापा बिष्ट

हाल ः दोहा,कतार ।

(साभार ः ११ जुन २००९ को राजधानी साप्ताहिकबाट)

गजल (जवाफ)

तिमीलाई पलाँसको फूल सोच्या छैन मीना

 चौबाटोको बेवारिसे तुल सोच्या छैन मीना

सृष्टिले नै जन्माउँछ निर्माण अनि निर्वाणहरु

तिम्रो सृष्टि उन्मातको भूल सोच्या छैन मीना

तिम्रो कोखको अमृत्वमा दैत्यपान नहोस् चाहेँ

छछल्किएको जवानीलाई शुल सोच्या छैन मीना

सिर्जनाकी मुहान तिमी हिमनदी बन्नु पर्छ

हिउँद लाग्दै सुकी जाने मूल सोच्या छैन मीना

 चन्द्र अनि मंगलसँगै आधा आकाश तिमी नै हौ

जवानी र वैंस तार्ने पूल सोच्या छैन मीना

– इखालु रमेश

टिप्पणी छोड्नुहोस्